१२ दुर्वासा
‘त्यो माहोलमा चोर, गुण्डा र अपराधीमात्रै हुर्कन्छन् । मलाई ती कुकुरहरूको पटक्कै दयामाया लाग्दैन । ती त नालीका कीरा हुन् । त्यो टोलका केटाकेटीहरू हाम्रो सभ्य समाजको लागि एउटा ठूला खतरा हुन् ।’ आधुनिक चालढालकी महिलाले घृणाभावमा सुकुम्वासीलाई गालीको भाषा प्रयोग गरेपछि हत्याको मुद्दामा निर्णय लिन छलफलमा जुटेका १२ जना जुरीसदस्यमध्ये एक जुरुक्क उठ्छ । उनको अनुहारमा पोतिएको आक्रोश शब्दमा व्यक्त हुन्छ । भन्छ, ‘मेरो बाल्यकाल पनि त्यही सुकुम्वासी बस्तीमा बितेको थियो । त्यहीँको नालीमा खेलें, हुर्किएँ । मेरो शरीरमा अझ त्यहीँको गन्ध बाँकी होला । त्यसको अर्थ म नालीको किरो हुँ, कुकुर हुँ ?’ दुवैतिरको आक्रोश बढ्दा उनीहरूलाई चुप लगाउन अरू सदस्यलाई हम्मे पर्छ । त्यहाँको माहोल हेर्दा लाग्छ, उनीहरू कुनै मुद्दालाई किनारा लगाउन होइन, आफैँबीच भनाभन गर्न आएका हुन् । अमेरिकन नाटककार रेनाल्ड रोजको नाटक ‘ट्वेल्भ एंग्री मेन’को नेपालीकृत स्वरूप ‘१२ दुर्वासा’को दृश्य हो यो । मण्डला थिएटर, अनामनगरमा ११ माघबाट मञ्चन शुरु भएको नाटकले निम्न वर्गलाई उच्च वर्ग हेर्ने दृष्टिकोण प्रस्ट्याएको छ । नाटकको नेपालीकरण...