बेड नम्बर ९९

‘म आफ्नी आमाको अवैध सन्तान हुँ । यो भन्दैमा के फरक पर्छ र ? मेरी आमा वेश्या हो भन्दैमा के फरक पर्छ र बेड नं ९८ ?’
मानसिक अस्पतालको ९९ नम्बर बेडमा रहेको बिरामीले ९८ मा रहेको बिरामीलाई सोध्ने यो प्रश्न भने कुनै बिरामी प्रश्न होइन । यसले जस्तै कठोर मानिसलाई समेत हल्लाउने सामथ्र्य राख्छ । त्यसैले हमेशा शान्त देखिने ९८ नम्बरको बिरामी आक्रोशित हुन्छ, त्यसको प्रतिरोध गर्छ । आफ्नी आमालाई लगाइएको कुनै पनि आरोप ऊ सहन सक्दैन । तर, ऊ त्यस्तो बिरामी हो, जसले आफ्नी पत्नीलाई त्यस्तै प्रकृतिको आरोप लगाएको हुन्छ । आफ्नी पत्नीको चरित्रहीनताको शंकामा ऊ आफ्नो मानसिक सन्तुलनलाई बिगारिरहेको हुन्छ । तर, यस्तो बेलामा समेत आफ्नी आमाप्रति भने ऊ कुनै शंका गर्न सक्दैन ।
थिएटर मल, सुन्धारामा नाटक ‘बेड नम्बर ९९’ ले यस्ता दृश्यमार्फत् महिलालाई हेर्ने पुरुष दृष्टिकोण र मनोविज्ञानलाई उतारेको छ । नाटकको यही दृश्यबाट पुरुष सोचको पर्खाल भत्किन शुरु हुन्छ । त्यसअघि बेड नम्बर ९९ मा महिलालाई आरोप लगाएर पुरुष बोलिरहेको हुन्छ, ‘जुनसुकै किसिमबाट भए पनि तिमीहरू मेरो खराबी देखाउन चाहन्छौ ।’ 
पुरुषग्रन्थीको एकोहोरोपनबाट ग्रस्त उसलाई आफ्नो खराबीमाथि कुनै शंका हुँदैन । शंका हुन्छ त केबल महिलामाथि, आफ्नै जीवनसाथीमाथि । ऊ स्वतन्त्रताको उद्घोष गर्छ, महिला स्वतन्त्रताको पनि कुरा गर्छ । अझ आफ्नो स्वतन्त्रतामाथि सानो चोट लाग्नु पनि असह्य लाग्छ । तर, व्यवहारमा महिलाको स्वतन्त्रताउन्मुख सानो कदमबाट पनि तर्सिन्छ । महिलाले खोजिरहेको स्वतन्त्रताको कारणमा आफ्नै संकीर्ण र गन्धे सोच थोपर्छ । भन्छ, ‘उसलाई हिस्टेरिया छ, यौनकी भोकी छ ऊ ।’ उसलाई शंका गर्छ कि आफूले जे–जति अनैतिक कार्य गरेको छ, त्यो उसकी जीवनसाथीले पनि गरेकी होला । यही शंकाले प्रेमिल सम्बन्धलाई कसरी ध्वस्त पार्छ भन्ने कथा नाटकमा भनिएको छ । त्यसलाई निदान गर्न अस्पतालको परिकल्पना गरिएको छ । त्यस्तो व्यवहारिक र वैचारिक अस्पताल, जहाँ उक्त मनोग्रन्थीलाई सरल तरिकाले फेर्न सकियोस् । 
नाटकको क्यानभास सानो छ, तर त्यसमा महिलाको सीमान्त आवाजलाई ठूलो स्वरमा महशुस गर्न सकिन्छ । लय मन छुने भएकाले त्यो स्वर कानलाई कम, हृदयले बढी महशुस गर्छ । 
थिएटर मल, सुन्धारामा ७ माघबाट नाटक मञ्चन भइरहेको छ । महेशविक्रम शाहको कथालाई निर्देशक घनश्याम श्रेष्ठले रूपान्तरण गरेर नाटकको परिकल्पना गरेका हुन् । २९ माघसम्म नाटकमा श्याम खड्का, विकास जोशी, शुष्मा कोइराला, रेनुका कार्की, शुशिला लक्ष्मी महर्जन, श्रीनेहा पोखरेल, केशव रिजाल, गणेश पौडेललगायतको अभिनय छ ।
܀܀܀

साभार: अन्नपुर्ण टुडे, शुक्रबार, १४ माघ, २०७३ 

Comments

Popular posts from this blog

नेपाल ओरियण्ड म्याग्नेसाइट: स्वार्थको सिकार