१२ दुर्वासा


‘त्यो माहोलमा चोर, गुण्डा र अपराधीमात्रै हुर्कन्छन् । मलाई ती कुकुरहरूको पटक्कै दयामाया लाग्दैन । ती त नालीका कीरा हुन् । त्यो टोलका केटाकेटीहरू हाम्रो सभ्य समाजको लागि एउटा ठूला खतरा हुन् ।’
आधुनिक चालढालकी महिलाले घृणाभावमा सुकुम्वासीलाई गालीको भाषा प्रयोग गरेपछि हत्याको मुद्दामा निर्णय लिन छलफलमा जुटेका १२ जना जुरीसदस्यमध्ये एक जुरुक्क उठ्छ । उनको अनुहारमा पोतिएको आक्रोश शब्दमा व्यक्त हुन्छ । भन्छ, ‘मेरो बाल्यकाल पनि त्यही सुकुम्वासी बस्तीमा बितेको थियो । त्यहीँको नालीमा खेलें, हुर्किएँ । मेरो शरीरमा अझ त्यहीँको गन्ध बाँकी होला । त्यसको अर्थ म नालीको किरो हुँ, कुकुर हुँ ?’
दुवैतिरको आक्रोश बढ्दा उनीहरूलाई चुप लगाउन अरू सदस्यलाई हम्मे पर्छ । त्यहाँको माहोल हेर्दा लाग्छ, उनीहरू कुनै मुद्दालाई किनारा लगाउन होइन, आफैँबीच भनाभन गर्न आएका हुन् । अमेरिकन नाटककार रेनाल्ड रोजको नाटक ‘ट्वेल्भ एंग्री मेन’को नेपालीकृत स्वरूप ‘१२ दुर्वासा’को दृश्य हो यो । मण्डला थिएटर, अनामनगरमा ११ माघबाट मञ्चन शुरु भएको नाटकले निम्न वर्गलाई उच्च वर्ग हेर्ने दृष्टिकोण प्रस्ट्याएको छ । नाटकको नेपालीकरण गर्दा सीमान्त आवाजलाई स्थान नदिने यहाँको परम्परागत सत्ता, संरचना र मनोविज्ञानमाथि पनि ध्यान दिइएको छ । त्यसैले एउटा कालखण्डसम्म मधेश, महिला, जनजातिलगायतका सीमान्तकृत आवाजलाई सुन्नै नचाहने मूलधारको प्रवृत्ति नाटकमा जीवन्त उत्रिएको छ । 
कुनै पनि विषयमा छलफल गर्दा होस् या निर्णय लिँदा तथ्यलाई बिर्सेर तर्कमा भुल्ने र भावनात्मक हुने प्रवृत्तिमाथि नाटकले प्रश्न उठाएको छ । नाटकको निष्कर्ष छ, भावना र तर्कमात्रै मिसिएको लयालु संवेदनाले निर्णय वस्तुगत हुन सक्दैन । आफ्नै बाबुको हत्याको आरोप लागेको नाबालिग किशोरको मुद्दामाथि छलफल गर्ने क्रममा छोराले आफूलाई थप्पड हानेर हिँड्यो भन्दैमा नयाँ पुस्तालाई नै खराब देख्ने बाबु र गरिबलाई नालीको कीरा देख्ने धनाढ्य महिलाको दृष्टिकोणले त्यसलाई पुष्टि गरिदिन्छ । 
नाटकले समाजमा तथ्यपरक बहसमा जोड दिएको छ । सीमान्त आवाजलाई पर्याप्त सुन्न माग गरेको छ । केवल प्रतिक्रियात्मक छलफललाई निरुत्साहित गर्दै तथ्यपरक विश्लेषणमा जोड दिएको छ । त्यसका लागि रंगमञ्चमा सामान्यतया दर्शक बस्ने व्यवस्थालाई निर्देशकले परिवर्तन गरिदिएका छन् । मञ्च बीचमा छ, दर्शकले अगाडि र पछाडि बसेर नाटक हेर्न पाउनेछन् ।
सुरेश सापकोटाले नेपालीमा रूपान्तर गरेको नाटकलाई राजन खतिवडाले निर्देशन गरेका हुन् । १ फागुनसम्म मञ्चन हुने नाटक अभिनेता सरोज खनालको ‘थिएटर कमब्याक’का कारण पनि चर्चामा छ । नाटकमा पशुपती राई, सरिता गिरी, सृजना सुब्बा, सोमनाथ खनाल, अनुपम शर्मा, अभय बराल, बादल भट्ट, लक्ष्मी बर्देवा, विशारद बस्नेत, कुशल पाण्डे, पुष्कर कार्की र आयान खड्काको अभिनय छ ।
܀܀܀
 कला अनुरागी
साभार: अन्नपुर्ण टुडे, शुक्रबार, १४ माघ, २०७३ 

Comments

Popular posts from this blog

नेपाल ओरियण्ड म्याग्नेसाइट: स्वार्थको सिकार