दमिनी भीर लेख्दाका दश कुरा
राजन मुकारुङ। पछिल्लो समय
चर्चामा रहेको उपन्यास ‘दमिनीभीर’का लेखक
। उनलाई भेटियो, कोटेश्वर
सेतीओपीमार्गको चियापसलमा । उनीसँगै मुस्कुराउँदै हात मिलाए एक युवकले । परिचयपछि
थाहा भयो, ती युवक
मुकारुङले लेख्न लागेको नयाँ उपन्यासका पात्र रहेछन् । जनयुद्धमा प्रत्यक्ष सहभागी
ती पात्रसहितको कथामा उनी अयोग्य लडाकुबारे उपन्यास लेख्ने तयारीमा रहेछन् ।
यसरी पात्रसँगै हिँडिरहेका मुकारुङले सविस्तार सुनाए ‘दमिनी भीर’ लेख्दाका दश कुरा ।
१. पात्रको बोलीबाट वाक्य–संरचना
मुकारुङ भन्छन्, ‘वास्तविक पात्र नै धेरै छन्
उपन्यासमा ।’ त्यसैमध्येका
आफ्नै छिमेकी ‘लच्छी’ र उनलाई प्रेम गर्ने ‘धौले कान्छा’लाई भेट्न गाउँ पुगे ।
(यसैबीचमा उनले बताए कि अहिले उनीहरूबीच विवाह भइसकेको छ)
उनीहरूसँग कुरा गरे । उनले
बाझाबाझ गर्दाको (उपन्यासमा लच्छी र धौले कान्छा सडक खन्ने वेला अक्सर बाझाबाझ
गर्छन्) वाक्य लच्छीलाई पटक–पटक भन्न
लगाए ।
‘उनले लामो वाक्यमा पनि बोलिन् । मध्यममा पनि बोलिन् । जब छोटो वाक्य
बोलिन् । त्योचाहिँ साह्रै मीठो र ‘टच्ची’ लाग्यो ।
सट्ट लेखेँ । सुन्दर लाग्यो । अनि उपन्यासको वाक्यको लम्बाइ र शैली त्यसैलाई
बनाउने निर्णय गरेँ ।’
लच्छीले बोलेको वाक्य थियो– ‘मार्दिन्छु यो मुर्दारलाई
!’ साधारण
व्याकरणमा त्यही वाक्य ‘यो
मुर्दारलाई मार्दिन्छु’ हुनुपर्ने
। ‘म कवि
पनि भएकाले होला, यो शैली
जम्छजस्तो लाग्यो,’ उनले भने
।
२. थिएटरमा भेटिएकी हाङ्दिमा
दमिनी भीरमा ‘हाङ्दिमा’ नामकी पात्र छिन् । उनलाई लेखकले
मण्डला थिएटर (जसमा लेखक पनि सम्बद्ध छन्) मा भेटेका थिए । हरेक क्रियाकलापबाट
दिक्कजस्तो देखिने ती पात्रलाई उनले भने, ‘तिमीलाई के भएको छ ?
हृदयदेखि नै भन । अनि काम गर्न पनि सजिलो हुन्छ ।’
पहिला त उनले गाह्रो मानिन्
। पछि जीवनको कथा भनिन् । त्यसपछि लेखकले उनलाई सुझाए, ‘तिमी आफ्नो संस्मरण पूरै
लेख । म त्यसलाई आख्यानीकरण गरिदिन्छु । राम्रो उपन्यास बन्छ ।’ उनले लेखिसक्दा डायरीको
करिब ३५/३६ पेज मात्रै भयो ।
उपन्यास त नबन्ने भयो । के
गर्ने ? लेखकले
उनलाई आश्वस्त पारे, ‘मेरै
उपन्यासमा सम्मानपूर्वक हालौँला ।’ उनले दमिनी भीरमा पात्रलाई दिएको आश्वासन पूरा गरेका छन् ।
३. मिसावटी पात्र नाम्देङ
उपन्यासमा ‘नाम्देङ’ भन्ने पात्र छ । त्यो पात्र
धेरै पात्रको चरित्रलाई मिसाएर निर्माण गरेका हुन् उपन्यासकारले । उनी भन्छन्, ‘५/६ जनाको चरित्र त्यसमा
मिसाइएको छ । मण्डला थिएटरकै साथीहरू पनि छन् । अन्तिमतिरचाहिँ बढी नै छु म । उसको
जीवनमा निकै मोड आउँछन् । काठमाडौको रंगमञ्चमा काम गर्छ, त्यो छोडेर गाउँ फर्कन्छ, राजनीति गर्छ, शिक्षक बन्छ, फेरि काठमाडौ फर्कन्छ ।
वर्गीय राजनीतिबाट आएको मान्छे,
जातीय राजनीतितिर लाग्छ । त्यसमा कतिपय मेरै जीवनको अनुभव पनि आएको छ
।’
४. लेख्दा–लेख्दै मज्जा
‘कथा अघि बढ्दै थियो । पात्रले हलो जोत्दै थियो । उसले टक्क गोरु
अड्याउँदै अनौमा अडेस लागेर गोजीबाट मोबाइल झिकेर भन्यो– ‘हलो !’ लेखकले उत्साहित हुँदै भने ‘त्यतिखेर साह्रै मज्जा आयो
। मेरो बुझाइ ठ्याक्कै मिल्यो । नेपाली समाज त कम परिवर्तन भा’रैछ त ? कल्ले भन्छ यार केही भा’छैन भनेर ?’
उनले थपे, ‘द्वन्द्वको मारमा परेर जरुर
युवाले गाउँ छाडे । कोही माओवादीको डरले भागे होलान् । कोही राज्यको उत्पीडनका
कारण भागे होलान् । तर उनीहरू काठमाडौं आए, अरबतिर गए । अरबै गएर भए पनि उनीहरूले फुसको छानोमा टिन त हाले नि ।’
५. अर्को अन्त्यको खोजी
उपन्यासकारलाई दुईपल्ट
अन्त्य गर्नुपरेछ, उपन्यास
। पहिलोपटकको अन्त्यबारे उनले बताए, ‘माओवादीले अन्तिम आन्दोलन भनेर देशका विभिन्न भागबाट कार्यकर्ता
ल्यायो, थुपार्यो
। दिनभरि घाममा टट्यायो । लड, भिडन्त
गर भनेर आदेश पनि दिएन । अस्वस्थ खानाले कैयौँ बिरामी भए । अन्तिममा आफैँले
आन्दोलन फिर्ता लियो । कार्यकर्ता निराश भएर फर्कनुपर्यो । यहीँ नै मैले
सिध्याएको थिएँ । तर, संविधानसभाको
विघटनले मलाई नमीठो चोट दियो ।’
त्यसपछि उनलाई लाग्यो– उपन्यासमा आदिवासी जनजातिको
आन्दोलन हुल्नैपर्छ । संविधानसभाको विघटन यो–यो कारणले भएको हो भन्नका लागि पनि । उनको ठहर छ– आदिवासी जनजातिलाई अधिकार
दिने कुरामा असहमत भएकै कारण संविधानसभा विघटन भएको हो । त्यसो गर्न उनलाई
उपन्यासको अर्को अन्त्य खोजी गर्नुपर्यो ।
६. खाजाघरमा अन्त्य गर्ने पात्र
कोटेश्वरमा ‘किरात खाजाघर’ छ । त्यहाँ ड्राइभर/खलासी
जान्छन् । मुकारुङ जान्थे कहिलेकाहीँ ।
एक दिन बेलुकीपख उनी त्यहाँ
गए । त्यसैवेला एउटा मातेको युवा आफ्नो आमालाई तथानाम गाली गरिरहेको थियो ।
यो सुनेर उनले सोधे, ‘ए भाइ, घर कता हो ?’ उसको जवाफ थियो, ‘ए † कता हो कता, थाहा छैन ?’ लेखक पात्रसँग कुरा गर्न
इच्छुक थिए र भने, ‘गजबको
कुरा गर्यौ नि भाइ । तिमी यहाँ कति वेला आउँछौ ?’ उनले थाहा पाए– ती युवा पाँच बजेतिर त्यहाँ जाने रहेछन् । भोलिपल्ट उनी साँढे चार
बजे नै खाजा घर पुगे । ‘नपिएकै’ वेला भेटे ती युवालाई ।
उसले किन आमालाई गाली गर्यो भन्ने बुझे । उनी भन्छन्, ‘उसले आमालाई गरेका गालीलाई
मैले बाबुलाई गर्ने गालीमा बदलेँ । जसले उपन्यास अन्त्य गर्न सहयोग पुर्यायो ।
त्यो पात्रको गाली सुनेपछि नाम्देङ भन्ने पात्रलाई छोरोको सम्झना आउँछ । उसले
बुझ्छ कि छोरालाई बेवास्ता गरियो भने भोलि त्यसरी नै ठाउँ–ठाउँ गाली गर्ने रहेछ ।’
त्यसपछि उनले भोलिको
पुस्तालाई हामीले सही बाटो दिन सकेनौँ भने अराजक भएर निस्कन्छ भन्ने सन्देशबाट
उपन्यास अन्त्य गर्ने निर्णय लिए ।
७. डोजर नायक
उपन्यासकारको दर्शन छ, ‘अबको समय एकल नायकवादमा
चल्दै चल्दैन ।’ त्यसका
लागि उनीसँग तर्क पनि छ, ‘नेतृत्वलाई
केन्द्रीकरण गरेर जनयुद्ध लडेको पार्टीले त केन्द्रलाई मात्रै नराखेर अनेक पद
सिर्जना गर्नुपरेको छ । साहित्यमा चाहिँ त्यस्तो विकेन्द्रीकरण धेरै चरित्रलाई
प्रधान भूमिका दिएर
हुँदो रहेछ ।’
त्यसो त हरेक लेखकको जस्तै
आफ्नो नयाँ शैली बनाऊँ भन्ने उनलाई पनि लागेकै हो । नयाँलाई स्थापित गर्न
झेल्नुपर्ने आलोचना पनि उनले झेलेकै छन् । भन्छन्, ‘यस्तो गर्दा परम्परागत ढाँचा पढ्नेलाई गाह्रो
हुँदो रहेछ । उनीहरूको भनाइ हुन्छ– नायक को होला भनेर खोज्दाखोज्दै सिद्धिन्छ उपन्यास ।’
तर, केन्द्रीय पात्र नै खोज्ने
पाठकलाई पनि निराश पार्न चाहँदैनन् । उनी भन्छन्, ‘त्यसरी हेर्ने हो भने उपन्यासको नायक त डोजर हो नि
। दलित महिलाले हाम फालेर मरेको कारणले त्यसको नाम दमिनी भीर भयो । तर, चार पुस्तापछि त्यही
समुदायको मान्छेले त्यो भीर भत्काउँदै छन् । त्यो भीरलाई भत्काउनुको अर्थ अब कसैले
पनि उत्पीडित हुनु नपरोस्, त्यसरी
हाम फाल्न नपरोस् र त्यस्तो नामकरण गर्न नपरोस् भन्ने हो । त्यो भीरलाई अन्तिममा
डोजरले भत्काएको छ ।’
८. माकुरीजाल शैली
दमिनी भीरको कथाको बुनाइमा
पनि उपन्यासकारले विशेष शैली प्रयोग गरेका छन् । त्यो शैली हो– माकुरीजाल शैली । माकुराले
आफू बीचमा बसेर वरिपरि जाल बुन्दै जान्छ । जाल बुनेर अन्तिममा पुग्दा त्यो
माकुरालाई उसैको बच्चाले खान्छ । उनी भन्छन्, ‘उपन्यासमा दमिनी भीर माकुरो हो र कथा जाल बुनेजसरी अगाडि बढ्छ ।’
९. बाटो मोडिएर दमिनी भीरतिर
मुकारुङले पहिले पनि धेरैसँग
भनिसकेका थिए, ‘दमिनी
भीर लेख्नुअघि मेरो पहिलो उपन्यास ‘हेत्छाकुप्पा’को भाग
दुई लेख्दै थिएँ ।’ उनले थपे, ‘३५ प्रतिशत लेखिसकेको थिएँ
।’
त्यसमा उनी पछ्याउँदै थिए
वास्तविक पात्र । जब पात्रले गाउँको दमिनी भीरमा सडक खन्न थाल्यो । समूहमा मिसिएर
गैँती–बेल्चा
चलाउन थाल्यो । उनको कलम टक्क रोकिएछ ।
किनकि, उनको पात्र त्यहीँ हँसीमजाक
गर्न थाल्यो । माया–प्रेमका
कुरा गर्न थाल्यो । त्यसवेला संविधानसभाको चुनाव आउन लागेको थियो । राजनीतिक कुरा
हुन थाले ।
त्यसपछि उनले लेख्न छाडे, सोच्न थाले । दमिनी भीरकै
लेखन शैलीमा उनले भने, ‘दशवर्षे
द्वन्द्व । शान्तिप्रक्रियामा आयो मुलुक । बाटो गयो गाउँमा । सडक खन्न थाले मान्छे
। ठूलो परिवर्तन देखियो गाउँमा ।’
उनले गाउँलेको आर्थिक
स्थितिमै पनि परिवर्तन देखे । संविधानसभाको चुनावमा नयाँ पार्टी माओवादीलाई
जिताउनुपर्छ भनेर लागेका लेखक वेला–वेला संगठन गर्न गाउँ त पुगेकै थिए । परिवर्तनबाट बेखबर नै त थिएनन्
। ‘तर पनि
स्पष्टचाहिँ थिइनँ । त्यहाँबाट स्पष्टै भएँ,’ उनले भने, ‘चार
वर्षअघिसम्म एक किलो मासु खानका लागि मुटु कमाउनेले छाकैपिच्छे मासु खान थाले ।
सात–आठ जना
मिलेर सिंगै सुंगुर र खसी काट्ने भए । खच्चरले ल्याइदिएको चामल भए पनि मीठै खाने ।
केटाकेटीलाई पनि राम्रै लगाइदिने । दिनभरि काम गर्नुपरे पनि स्तर त माथि भयो ।’
तर, उनलाई चिन्ता लाग्यो– सडक खन्ने कामले आफ्नो पेसा
कृषिचाहिँ बेवास्तामा पर्न थाल्यो । खनजोत–छेउकुना पनि राम्रो नगर्ने । बाली पनि राम्ररी नलगाउने । खेती नै कम
हुन थाल्यो ।
उनले सोचे, ‘सडकको काम त कति दिन चल्छ र
? एक/दुई
वर्ष न हो । जीवन धान्ने पेसा त कृषि नै हो । अब दुई वर्षपछि त खेतबारी सिरुले
ढाकिसक्छ ।’
अर्को कुरा, उनले त्यो सडक खनिँदै गरेको
भीरमा पनि ठूलो विम्ब देखे । भीर भत्किँदै छ, पछि सडक बन्छ । त्योसँगै कथा पनि मेटिन्छ । अर्को चिन्ता थपियो
लेखकलाई ।
त्यसपछि उनको मनले भन्यो, ‘अब हेत्छाकुप्पा नलेख्, अर्को शीर्षकमा लेख् ।’ त्यसपछि उनी दमिनी भीरतिर
मोडिए ।
१०. तीन उद्देश्य
लेखनको उद्देश्य हुन्छ– यो कुरामा सहमत छन्, मुकारुङ । दमिनी भीर लेखेर
समाजलाई तीन कुरा बुझाउनु थियो ।
पहिलो : दशवर्षे
द्वन्द्वबाट नेपाली समाज ग्रस्त मात्रै भएन, त्यसले चेतना पनि दियो । राजनीतिक रूपमा परिवर्तन त गरी नै हाल्यो ।
राजतन्त्रबाट गणतन्त्रमा जानु ठूलो उपलब्धि हो ।
दोस्रो : विशेषगरी
संक्रमणकालमा युवाको एउटा पंक्तिले भन्दै छ– ‘पोलिटिक्स इज डर्टी गेम (राजनीति फोहोरी खेल हो)’ । उनीहरूमध्ये कतिपय केही
भएन भनेर निराश भएका छन् । पर बसेर त्यसो भन्नुहुन्न । अनन्त माग भएको समयमा काम
गर्नेलाई पनि त दु:ख छ । त्यसैले निराश हुनुपर्दैन । परिवर्तन हुँदै छ ।
तेस्रो : हाम्रो समयमा
बाँचिरहेका मानिसले साना–साना
कुरा गरिरहेका छन् । तर, त्यो
हाम्रो भविष्य हो । त्यसलाई केन्द्रमा राखेर नीति बनाउन सकियो भने भविष्यले गति
लिन्छ । ठूला कुरा पनि सम्भव हुन्छन् ।
उपन्यासकारको दाबी छ– उद्देश्य पूरा गर्न
पात्रलाई अतिरञ्जित गरेर बोल्न लगाइएको छैन । पात्र जुन समाज र परिवेशमा छन्, त्यहीअनुसारको व्यवहार र
बोलीको प्रयोग गरिएको छ ।
Comments
Post a Comment