यसपालीको असारमा

रोपाहारहरू भन्छन्–
‘यसपालीको असारमा
रोप्दैनौं हामी पुरानो धानको बीउ
र, ओढ्दैनौं हामी पुरानो घुम । ’

‘पुरानो धानको बीउ–
जिन्दगीकै मल हालेर
रगत र पसिनाकै कुलो लगाउँदा पनि
सप्रियो गाँज मात्रैे
तर दिएन कहिल्यै फल
र, जति नै मोटाए पनि गाँज
जता बह्यो दक्षिणी हावा
त्यत्तैतिर लडिरह्यो सोत्तर भएर ।’

‘पुरानो धानको बीउ–
हल्कियो बोटमात्रै ओग भएर
र, यसको ओगले सप्रन सकेन
आलीमा रोपेको सुखको मास
आलीमा रोपेको खुशीको भटमास
तर सँधैं सप्रिरह्यो आँसुको काँस
र दु:खको बेमौसमी घाँस ।’

‘पुरानो धानको बीउ रोप्दा
जति नै गोडे पनि
गह्रा–गह्रामा हल्किरह्यो मल्लिँडहरू
उम्रिरह्यो गाँज–गाँजमा सामा
र, पुरानो धान रमाईरह्यो सामाकै छहारीमा ।’

तर यसबेला पनि
दिईरहेको छैनन् कथित् छिमेकीहरुले
निकै मेहनत गरेर उत्पादन गरेको
नयाँ धानको बिउ राख्न
र, बियाडमा उमार्न खोजिदैछ
तिनकै तजवीजमा
पटक–पटक फल विनाको नलमात्रै भएको
त्यही पुरानो धानको बीउ
र त रोपाहारहरु भन्छन्–
‘हामी त यसपाली
पुरानो धानको बीउ रोप्नुको सट्टा
भैंसी चराउने विचारमा छौं पुरानो बियाडमा ।’


आज उभिईरहेछ यो मौसम पनि
पुरानो धानको बीउको खिलाफमा
र त बित्दै जाँदा पनि असारका दिनहरु
छैन सुरु भएको मनसुन
न त घटेको छ गर्मी नै ।

रोपाहारहरू भन्छन्–
‘ए ! लाठेहरू हो !
कोदाली अर्चापेर राख
दाँदे तयार राख
हलोको फाली ठिक पार
अनौ, हरिस्, जुवा, जोतारो याद गर
भोर्लाको पात छापेको पुरानो घुमले
ओत्न सक्दैन पानी
तयार गर नयाँ घुमहरू
नयाँ धानको बीउ राख्दैछौं हामी
छिमेकीहरू निउँ खोज्न आउँछन्
तयार पारेर राख तिनीहरुको लागि
गोरू कुट्ने लौरोहरू
भटमासको दल सुरक्षित राख
आऊ, ढिला हुन लागिसक्यो
यो माटोले खोजेको नयाँ बीउ
रोपेपछिको हाम्रो खेत
र मंसिरको भकारी सम्झेर आऊ
नरोपिँदै मान्छेको मुखैमा झुण्डिसकेको
बिशेषज्ञहरूले पनि उत्कृष्ट प्रमाणित गरिसकेको
नयाँ धानको बीउ
जसरी पनि रोपेरै छाडौं यसपालीको असारमा ।’

रोपाहारहरु भन्छन्–
‘यसपालीको असारमा
रोप्दैनौं हामी पुरानो धानको बीउ
र, ओढ्दैनौं हामी पुरानो घुम । ’

ए ! लाठे साथीहरू हो !
के हामीचाहिं त्यही पुरानै धान रोप्न
बाउसे गरेर बस्ने त ?
܀܀܀
✍ कला अनुरागी
Image © Narendra Shrestha । Taken from- http://zheladakh.com/wp-content/uploads/2015/10/Nepal-Zanskar-Himalayan-ZHE6.jpg
साभार: नौजवान

Comments

Popular posts from this blog

नेपाल ओरियण्ड म्याग्नेसाइट: स्वार्थको सिकार

Philosophy of Fearism