‘नाटक त गर्छौ, तर कामचाहिँ के गर्छौ भाइ ?’
‘जीवन र अभिनयको सम्बन्ध कस्तो रहेछ ?’ रंगकर्मी विजय बराललाई मैले सोधेथेँ । उनको उत्तर थियो, उनलाई लाग्छ, ‘अभिनय जीवनजस्तै हुँदोरहेछ । त्यसैले कतिलाई त पागलझैं लाग्दोहोला हामी । त्यत्तिकै हाँसिरहेका हुन्छन्, त्यत्तिकै रोइरहेका हुन्छन् भन्दा हुन् ।’ वास्तवमै अहिले उनी त्यही अवस्थामा छन् । उनलाई सिजोफ्रेनिया भएको छ । मानसिक असन्तुलनको उपचार गराइरहेका छन् । तर वास्तविक जीवनमा चाहिँ होइन, नाटकमै । फागुन ७ गतेबाट मण्डला थिएटरमा मञ्चन सुरु भएको नाटक ‘बिल गेट्स पण्डित’मा उनी नाटक र जीवनका सन्तुलन मिलाउन नसकेर ‘सिजोफ्रेनिया’को सिकार भएको व्यक्तिको भूमिकामा छन् । नाटकबाट मण्डलाका प्रतिभा सुलक्षण भारतीले निर्देशनमा ‘डेब्यू’ गरेका छन् । लेखेका पनि उनैले हुन् । नाटक लेख्दा विजयको प्रतिभा, चरित्र, क्षमता र सपनालाई ध्यान दिएका छन् । त्यसैले नाटक हेर्दा लाग्छ, सुलक्षणले विजयकै लागि नाटक लेखेका हुन् । तथापि नाटकले सार्वभौम अर्थ दिन्छ, आफ्नो जीवन दर्शनसँग सम्झौता नगरीकन बाँच्न चाहने हरेक व्यक्तिले नाटकमा आफूलाई पाउँछन् । नाटकको ‘कन्टेन्ट’ अतिदार्शनिक र बृहत लाग्दैन । दैनिक जीवनका मसिना ...