अर्ती
आफ्नै हृदयको मसीले आफ्नो हक लेख्न संविधानसभामा पुगेपछि गर्वले कोटको खल्तीमाथि खिलेको सभासद्को फुली झर्ने गरी जब सोठ्यायो सत्ताको लौरोले छिनमै रिसले फुल्दै छिनमै निराशाले खुम्चदै डेरा फर्केको सभासद् नातिलाई हजुरबा लालविर विश्वकर्माले काँधमा थपथपाए र, भने– ‘हेर् नाति ! यिनीहरुको खप्परभित्र जुन सिनो गिदी छ त्यसको कुहिगन्ध मैलेजति कसले सहेको होला र ? दिनदिनै बढिरहेको दुःखको घारी उस्सै छोडेर हामी जिन्दगीभर हिड्यौं सालघारीमा गोल पोल्न र, सुकाएर आफ्नो रगत गोलको रापमा पगालीरह्यौं यिनीहरुकै हृदयजत्तिकै कठोर फलाम बजारिरह्यौं घन र, बनाइदियौं यिनीहरुकै लागि हतियार आफ्नै भविष्यको धार भुत्ते छोडेर अर्चापिरह्यौं तिनै हतियार । हतियारको बलमा भए शक्तिशाली र, घन बजारीरहेछन् हाम्रो टाउकोमा, हतियारकै धारले धारिला भए र, रेटिरहेका छन् मानवताको घाँटी । राम्ररी थाहा छ यिनीहरुलाई हामीले छोएपछि पानी कसरी पाइन बनेर चढ्छ हतियारमा र, बन्छ धारिलो त्यसैले दिदैनन् पानी छुन । यिनीहरुले देखेका छन् हामीले चलाएपछि खलाँती कसरी पाउँछ कोइलाले आगोको जीवन पग्लन्छ फलाम, र, बन्छ हति...