गाउन बाँकी गीत

गाइसकेपछि पनि हज्जारौं गीतहरु
अझै गाउन बाँकी नै छ
यो समयको नयाँ गीत ।

छोडेनौं हामीले गाउन
आफ्नै रगतका खोलाहरु सुसाउँदा पनि
झन् त्यसैलाई संगीत बनायौं
रोकेनौं हामीले गीत
आफैंले खनेको माटोमा
आफैं रोपिनुपर्ने चित्कारमा पनि
बरु त्यसैलाई सरगम बनायौं ।

अहँ हामीले रोकेनौं गीतहरु
मादलहरु खोसिंदा
या जिउँदै गाडिदा गायकको शरीर ।

यसबेला यो उपल्लो चौतारोबाट
झुम्म बस्ती देखिए पनि
र, अझै घुर्मैलो छ समय
घुर्मैलोपछि रात पर्छ कि
बिहान हुन्छ ठेगान छैन अझै
त्यसैले रोक्नुहुँदैन अझै गीत ।

यत्ति हो कि गाएर पनि
हज्जारौं गीत
अझै गाउनै बाँकी छ
यो समयको नयाँ गीत
अर्थात मुक्तिको गीत ।
܀܀܀
✍ कला अनुरागी
साभार: कलम

Comments

Popular posts from this blog

नेपाल ओरियण्ड म्याग्नेसाइट: स्वार्थको सिकार