मेरा छोराले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुष्ट मानिस छन् र सज्जन पनि छन्, स्वार्थी राजनीतिज्ञ पनि छन् भने समर्पित निष्ठावान नेता पनि छन् । त्यस्तै शत्रु पनि छन् अनि मित्र पनि छन् । यो कुरा बुझाउन त समय लाग्ला नै तैपनि उसलाई परिश्रम गरी कमाएको एक डलर सित्तैमा पाएको पाँच डलरभन्दा बढी मूल्यवान् हुन्छ भन्ने कुरा बताइदिनुहोस् । उसले विजय र पराजय भनेको के हो, राम्ररी बुझोस् । त्यस्तै इष्र्याले युक्त भएको हाँसोको भित्री मर्म बुझोस् । उसलाई आकाशमा उडिरहेका चराहरु, घमाइलो दिनमा भुन्भुनाइरहेका माहुरीहरु र पहाडी काखमा फूलेका फूलहरुको शाश्वत रहस्य बुझ्न केही समय दिनुहोस् ।
मेरो छोरो जतातिर हुल छ, त्यतैतिर लाग्ने प्रबृत्तिको नहोस् । सुनेको कुरालाई राम्ररी छुट्याउन सक्ने होओस् । दुःख र कष्टमय अवस्थामा पनि प्रफुल्ल रहन सक्ने होओस् । उसलाई कहिलेकाहीँ आँखाबाट आँसु झार्न लाजमर्दो कुरो होइन भनिदिनुहोस् । ऊ आफ्नो बाहुबल, बुद्धि र सामथ्र्यमा विश्वास गरोस् । यदि उद्धेश्य उपयुक्त र सही छ भने जस्तोसुकै विरोध भए पनि जीउज्यानले लागिपरोस् । ऊभित्र सत्य र न्याय प्राप्तिका लागि सङ्घर्ष गर्न सक्ने साहस र दृढशक्तिको विकास गरिदिनुहास् । ऊसँग नम्र व्यवहार त गर्नुहोस् तर उसले टाउकामा टेक्ने गरी चाहिँ होइन । सम्झाउनुहोस्, आगाको लप्काबाटै फलाम खारिन्छ । ऊभित्र साहस र सधैँ केही गरौँ भन्ने भावना भइरहोस् । मेरो छोरो स्वयम् निर्भीक, साहसी र उत्साही बन्न प्रेरित भइरहोस् अनिमात्र ऊ मानवताप्रति नरम र आस्थावान् हुन सक्छ ।
धन्यवाद !
तपार्ईँको
अब्राहम लिङ्कन
ह्वाइट हाउस, वासिङ्टन
'मेरो छोराले के सिकोस् ?' भन्ने शीर्षकमा अब्राहम लिङ्कनले आफ्नो छोरो पढ्ने विद्यालयका प्रधानाध्यापकलाई लेखेको पत्र

