Saturday, December 17, 2011


श्रीमान् प्रधानाध्यापक,
मेरा छोराले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुष्ट मानिस छन् र सज्जन पनि छन्, स्वार्थी राजनीतिज्ञ पनि छन् भने समर्पित निष्ठावान नेता पनि छन् । त्यस्तै शत्रु पनि छन् अनि मित्र पनि छन् । यो कुरा बुझाउन त समय लाग्ला नै तैपनि उसलाई परिश्रम गरी कमाएको एक डलर सित्तैमा पाएको पाँच डलरभन्दा बढी मूल्यवान् हुन्छ भन्ने कुरा बताइदिनुहोस् । उसले विजय र पराजय भनेको के हो, राम्ररी बुझोस् । त्यस्तै इष्र्याले युक्त भएको हाँसोको भित्री मर्म बुझोस् । उसलाई आकाशमा उडिरहेका चराहरु, घमाइलो दिनमा भुन्भुनाइरहेका माहुरीहरु र पहाडी काखमा फूलेका फूलहरुको शाश्वत रहस्य बुझ्न केही समय दिनुहोस् ।
मेरो छोरो जतातिर हुल छ, त्यतैतिर लाग्ने प्रबृत्तिको नहोस् । सुनेको कुरालाई राम्ररी छुट्याउन सक्ने होओस् ।  दुःख र कष्टमय अवस्थामा पनि प्रफुल्ल रहन सक्ने होओस् । उसलाई कहिलेकाहीँ आँखाबाट आँसु झार्न लाजमर्दो कुरो होइन भनिदिनुहोस् । ऊ आफ्नो बाहुबल, बुद्धि र सामथ्र्यमा विश्वास गरोस् । यदि उद्धेश्य उपयुक्त र सही छ भने जस्तोसुकै विरोध भए पनि जीउज्यानले लागिपरोस् । ऊभित्र सत्य र न्याय प्राप्तिका लागि सङ्घर्ष गर्न सक्ने साहस र दृढशक्तिको विकास गरिदिनुहास् । ऊसँग नम्र व्यवहार त गर्नुहोस् तर उसले टाउकामा टेक्ने गरी चाहिँ होइन । सम्झाउनुहोस्, आगाको लप्काबाटै फलाम खारिन्छ । ऊभित्र साहस र सधैँ केही गरौँ भन्ने भावना भइरहोस् । मेरो छोरो स्वयम् निर्भीक, साहसी र उत्साही बन्न प्रेरित भइरहोस् अनिमात्र ऊ मानवताप्रति नरम र आस्थावान् हुन सक्छ । 
धन्यवाद !
तपार्ईँको
अब्राहम लिङ्कन
ह्वाइट हाउस, वासिङ्टन

'मेरो छोराले के सिकोस् ?' भन्ने शीर्षकमा अब्राहम लिङ्कनले आफ्नो छोरो पढ्ने विद्यालयका प्रधानाध्यापकलाई लेखेको पत्र

Friday, September 2, 2011

एउटा योद्धाको डायरी

उत्रनै नसक्ने गरी डुबेथें
कुनै सुन्दर युवकको प्रेममा डुबेकी युवतीजस्तै
म मेरो देशको प्रेममा ।

तर उसलाई जीवनभन्दा प्यारो मानेर
उसलाई ताकेको गोली छातीमा थाप्दा
गर्वले फुलेको छाती आज 
उदासी बॊक्ने अर्को अङ्ग किन बनिरहेछ 
ढाकेर मुटुको मखमली पर्दाले
जोगाएको उसको माया 
डिस्को पुस्ताको मनबाटजस्तै 
मेरो मनबाट पिन
आज किन बिरानिन खोज्दैछ 
म सोधिरहेछु पि्रय देशसँग । 

आफ्नो जिन्दगी जोगाउन
अरुको जिन्दगी भाग लगाउने बगरेलेजस्तै
उसको अङ्ग-अङ्ग काटेर
परायाको हातमा बेच्नेहरुलाई
उही देश पटाङ्गिनी छ अझै
तिनकै आँखामा छ
उत्साहका फूलहरुले मुस्कुराएको फूलबारी
र उमंगका बाला झुलेका फाँटहरु
तर किन दिन सक्दैन 
मेरो देश मलाई
राम्ररी जून हेर्नको निम्ति
शितलमा सुस्ताउने एउटा आँगन पनि ।

मेरो काँधमा झुण्डिएको
बेरोजगारी छापको खकनी झोला
खुईलिएको रंग बोकेर
मतिर हेरेर व्यङ्ग्य मुस्कुराउँछ उदास-उदास
सडक छापको मेरो जुत्ता
गोडाको औंला दाँतझैं टल्काएर
लजालु युवकझैं लजाईरहेछ ।

'किन पटक-पटक ऊ
बनाईरहेछ केवल युद्धको ढाल मेरो छातीलाई '

म सोधिरहेछु उसलाई 
उसलाई सुन्दर बनाउने सपनाको अघि-पछि 
छायाँजस्तै दौडदा-दौडदै बनेकॊ 
जिन्दगीको यो कुरुप चित्र देखेर ।

मेरो प्रश्नका उत्तरहरु आउने बाटोमा
मेरै काँधको भर् याङ्ग चढेर चोटामा पुगेका बगरेहरु 
बसेकाछन् खुँडा तरबार बोकेर
र बन्दी छ मेरो देश तिनकै बधशालामा
अनकन्टार गुफाभित्रबाट आएको आवाजजस्तै
मधुरो-मधुरो हुँदै गईरहेको छ मेरो आवाज
र झन्-झन मधुरो भईरहेछ आशाको गुलुब
त्यही अनुपातमा बढिरहेछ बगरेहरुको चर्को श्वर
भागबन्डा नमिलेको निहुँमा
तिनको जिन्दगीसँग साटिन थालेको छ आजकाल
हाम्रो आशाको विपना खेलिरहेको सामूहिक आँगन ।

आजकाल हरेक बिहान
जिन्दगीदेखि हार खाएको मान्छेको जस्तै
उदास मुहार लिएर झुल्कन्छ घाम 
उनेर त्यही घामसँगै निराशाका घुर्मैला फूलहरु
खिपेर अनेक-अनेक जिन्दगीले गरेका भूलहरु
हरेक बिहान आईपुग्छ अखबार मेरो ढोकामा
र छोडेर जान्छ
प्रेमीले छाडेर गएको जीन्दगीजस्तै
उदास-उराठ समाचारले भरिएकॊ आँगन ।


तैपनि उत्रनै नसक्ने गरी डुबेकै छु
म मेरो देशको प्रेममा
तर किन सँधै मेरो पि्रय देश 
पुग्छ बगरेहरुको बधशालामा 
मेरो अँगालोबाट फुत्किएर 
म उत्तर पर्खिरहेछु 
र लाग्छ उत्तरले मलाई पर्खिरहेछ ।